काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा शक्तिकेन्द्र सक्रिय रहेको बताएका छन्। कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धन बनाएपछि एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा उनले वर्तमान सत्ता समीकरणलाई चारै वर्ष टिकाउनुपर्नेसमेत बताए।
‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन। तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको ब्रिफिङ थियो,‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्।’
ती शक्तिकेन्द्रहरु आफै परास्त गर्ने गरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीको जिकिर छ।
सचिवालय बैठकले आगामी ८–९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक राख्ने र १० वैशाखमा पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ। एमालेभित्र प्रतिनिधि परिषद् बैठक महाधिवेशन पछि शक्तिशाली संरचना हो।
पार्टीले लिनुपर्ने नीतिबारे हरदुई वर्षमा प्रतिनिधि परिषद् बैठक हुने गर्छ।


