काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते संसदबाट विश्वासको मत लिने भएका छन्।
फागुन ३० गते विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्र पठाएका हुन्।
संसद सचिवालयले बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी विषय समावेश गरेर सूचना जारी गरेपछि विश्वासको मत लिने टुंगो लाग्नेछ।
फागुन २१ गते प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले-रास्वपा-जसपासँग गठबन्धन बनाएका थिए।
कांग्रेसले फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन हुने तय भएको छ।
वर्तमान सत्ता गठबन्धनको समर्थनमा माओवादीले प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।
