काठमाडौँ- सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गदै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताए।
उनले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गदै कानुन अनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताए।
राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्याउन आफ्नो भूमिका हुने जानकारी दिए। उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताए। दाहालले तत्काल बनाउनुपर्ने कानुनहरूमा ध्यान दिइने बताए।
उनले भने, ‘कतिपय अपूरा कामहरू छन्, त्यसलाई पूरा गर्ने कुरा विशेषगरी अहिले तत्काललाई केही विधेयकहरू पास गर्नु छ। कानुनहरू बनाउनु छ। त्यस विषयमा गम्भीरताका साथ छलफल पनि भइराखेकै छ। पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ। राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढङ्गको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्व जे उल्लेख गरिएको छ।,’ उम्मेदवार दाहालले भने, ‘जुन मान्यताका साथ राख्न कोसिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्याउनुपर्छ भन्ने मलाई लागिराखेको छ। तेस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ। त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुन सक्छन्। त्यसमा सबै राजनीतिक दलहरूसँग मिलेरै एकताबद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ।’
दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीको प्रस्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।


