काठमाडौँ- राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै छ। बिहान ११ः०९ बजे बस्ने बैठकले राष्ट्रिय सभाको अध्यक्ष चयन गर्ने छ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा ४ वटा सम्भावित कार्यसूची तय गरिएको छ।
जस अन्तर्गत आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्।
त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यसअघि संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
राष्ट्रियसभामा पहिलो दल माओवादीसँग १ मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन्। एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन्। राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन्। फलतः गठबन्धन तर्फका उम्मेदवार दाहालको जित निश्चतप्राय छ। शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन्।


