काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। प्रधानमन्त्री बनेको १५ महिनामा तेस्रो पटक बुधबार विश्वासको मत लिएका उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन्। २६८ जनाले मतदान गरेका थिए।
उनको विपक्षमा ११० जनाले विपक्षमा मत दिए। यस्तै १ जना तटस्थ रहे। प्रधानमन्त्री दाहालले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। त्यो बेला उनका पक्षमा २६८ सांसदले मतदान गरेका थिए। उनको विपक्षमा २ जना सांसदले मत दिएका थिए।
उनले दोस्रोपटक सोही वर्षको चैत ६ गते विश्वासको मत लिएका थिए। त्यो बेला उनको पक्षमा १७२ जना सांसद उभिएका थिए। उनको विपक्षमा ८९ सांसदले मत दिएका थिए। तेस्रोपटक बुधबार भने दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ।


