काठमाडौँ- बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ।
संसद सचिवालयले सूचना जारी गर्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि छलफल सुरु गर्ने तयारी रहेको जानकारी दिएको हो।
यसअघि नै तत्कालीन अर्थमन्त्री डा प्रकाशशरणम महतले प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए।
सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए। तर, सत्ता गठबन्धन परिवर्तन भई मन्त्रिपरिषद् पुनर्गठन भएपछि छलफलको कार्यक्रम सरेको हो।
प्रतिनिधि सभाको बिहीबारकै बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ।


