काठमाडौं– नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले नै निरन्तरता पाउने निष्कर्ष निकालेको छ। बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलले
केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको हो।
कोशीमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष कांग्रेसको हो। गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको कांग्रेसको निष्कर्ष छ ।
पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न देउवा निवास बुढानिलकण्ठमा दुई उपसभापति, दुई महामन्त्री, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरु भेला भएका थिए।


