गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रुपमा देखा परेको बताएका छन्।
गण्डकी प्रदेश नीति तथा योजना आयोग र १२ खरी मिडियाद्वारा संयुक्तरुपमा आयोजित विकास साझेदारसँग गण्डकी प्रदेशको समुन्नति र लगानीसम्बन्धी अन्तक्रियामा उनले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताए।
करोडौँ रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उनले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताए।
गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताए।
योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया गरिएको बताउँदै उनले आगामी हप्ता योजनाको आधारपत्र आउने बताए। मानव वन्यजन्तु द्वन्द्व पनि चुनौतीका रुपमा देखा परेको बताउँदै उनले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिले धारणा राखेका थिए। शुक्रबारै पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आज साँझापोखरा महानगरपालिकाको आयोजनामा राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत वरिष्ठ सञ्चारकर्मीसँग विकास लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारीमा लागिएको बताए। महानगरको समृद्धि र विकासका लागि पूर्वाधार विकासलगायतका काम अघि बढेको उनले बताए। आचार्यले पर्यटकीय राजधानी घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताए। पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको उनको भनाइ छ।
‘पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो। सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ। यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ’, महानगर प्रमुख आचार्यले भने।
आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए। उक्त अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखराको प्राकृतिक सुन्दरतालाई जोगाउँदै पूर्वाधार विकासका काम गर्न सुझाए। कार्यक्रममा महानगरका विकास निर्माणलगायतका विषयमा सञ्चारकर्मीले जिज्ञासा व्यक्त गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए।
प्रकाशित: २०८० चैत ३ गते शनिवार ०७:०२