पोखरा– गण्डकी प्रदेश सरकारको मन्त्री पदमा नियुक्त भएका सांसद दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा मन्त्री मनाङेलाई शपथ दिलाएका हुन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई सोमबारै मन्त्री पदमा नियुक्त गर्न सिफारिस गरेका थिए।
मनाङे मनाङ ‘ख’बाट स्वतन्त्र रूपमा निर्विरोध निर्वाचित हुन्। स्वतन्त्र रूपमा निर्वाचित भए पनि उनी केही समय नेकपा एसमा सक्रिय रहेका थिए।
तर आइतबार मात्र उनले नेकपा एस परित्याग गरेको उल्लेख गर्दै आफ्नो हैसियत स्वतन्त्र सांसदकै रूपमा राखिदिन प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए।
नेकपा एस त्याग गरेको २४ घण्टा नबित्दै उनी मन्त्री बन्न सफल भएका हुन्।
उनी यसभन्दा अघि तीन पटक मन्त्री भइसकेका छन्।
संघ सरकारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई बाहिर पारेपछि गण्डकी सरकार पनि संकटमा परेको थियो।
६० सदस्ययी प्रदेशसभामा कांग्रेसका २७ सांसद मात्र भएकाले सरकारले बहुमत गुमाएको थियो।
तर मनाङेसँगै डा बाबुराम भट्टराईको दल नेसपाका एक जना सांसद फणीन्द्र देवकोटा र राप्रपाका दुई सांसदले पनि कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डेलाई समर्थन गर्ने वचन दिएकाले क्याबिनेट विस्तार गरिएको हो। कांग्रेसबाहेकका यी ४ सांसदले समर्थन गरेको अवस्थामा पाण्डे सरकारलाई बहुमत पुग्ने अवस्था छ।
उता गण्डकीमा एमालेका २२, माओवादीका ८ सांसद छन्। यसमध्ये माओवादीबाट निर्वाचित भएर सभामुख बनेका कृष्णप्रसाद धितालले सभाध्यक्षता गर्ने भएकाले सामान्यतया विश्वासको मत दिने अधिकार हुँदैन। दुवै पक्षमा बराबर मत आएको खण्डमा मात्र निर्णायक मत दिने अधिकार सभाध्यक्षता गर्ने व्यक्तिलाई हुन्छ।
मनाङेलाई मन्त्री बनाएसँगै पाण्डे सरकारले निरन्तरता पाउने कांग्रेसको विश्वास छ।


