काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का एक जना अध्यक्ष डा बाबुराम भट्टराईको समूहले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बर्खास्त गर्ने निर्णय गरेको छ। डा भट्टराई समूले यादव पक्षका सबै नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो।
काठमाडौंको जडीबुटीमा सोमबार बसेको भट्टराई पक्षीय केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्न हस्ताक्षर गरेको भन्दी उनीहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको हो।
‘पार्टीलाई अमुक पार्टीमा विलय गराउने दुषित नियतले वक्तव्यबाजी गर्ने व्यक्तिहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय भएको छ,’ पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले भने।
शनिबार मात्र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी पदाधिकारीहरू र नेसपा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठको उपस्थितिमा नेसपा र माओवादीबीच एकता गर्ने सहमति भएको थियो। उक्त सहमतिमा माओवादी महासचिव देवप्रसाद गुरूङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका थिए। माओवादीसँग पार्टी एकता गर्ने यो सहमतिलाई अध्यक्ष भट्टराईले राजनीतिक धोका दिएको उल्लेख गरेका छन्।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठक र सोमबार बसेको नेसपा केन्द्रीय समिति बैठकमा अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठलगायत उपस्थित थिएनन्।
बाबुराम पक्षले बर्खास्त गरेपछी यादव पक्षले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।


