जनकपुरधाम- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिनमा दोषी देखिए अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकार छोड्नुपर्ने बताएका छन्।
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका गृहमन्त्री लामिछानेका विषयमा बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन्।
‘छानबिन जारी छ। जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ। कुनै चान्स छैन। जो सुकै होस्,’ महासेठले भने।
लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेका कारण अहिले कांग्रेसले सदनमा विरोध गरेको महासेठको जिकिर थियो।
प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा आपत्ति जनाउनु गलत भएको उनको भनाइ थियो।
महासेठले वर्तमान गठबन्धन अर्को चुनाव नहुन्जेलसम्मै टिक्ने पनि ठोकुवा गरेका थिए।
