लन्डन- वेल्सकी राजकुमारी केट र प्रिन्स विलियम राजकुमारीलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित भएकी बताइएको छ।
आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताइकी थिइन्।
बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताएकी थिइन्।
‘राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ’, केन्सिङ्टन दरबारका प्रवक्ताले भने।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरहनुभएका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन्। केट वा अरु कसैले पनि उनलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गरेका छैन। राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन्।
अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उनी अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए। यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो।
द सन र टिएमजेडले गत हप्ता केट र विलियम उनीहरूको घर नजिकै किनमेल गरिरहेको भिडियो प्रकाशन गरे पनि नकारात्मक कभरेजलाई हटाउन सकेन ।
‘राजकुमारी केटले भिडियोमार्फत जानकारी गराउनुअघि उहाँको स्वास्थ्य अवस्था र ठेगानाबारे अनुमान र दबाब मैले अहिलेसम्म देखेको सबैभन्दा खराब थियो’, केट र प्रिन्स अफ वेल्सका पूर्व आधिकारिक प्रवक्ता प्याडी हार्भरसनले भने।
यद्यपि जस्तोसुकै अनुमान गरिए पनि केटले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिनुहुनेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए।


