सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा उनले अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। देवकोटाले जम्मा तिन सय ५१ मत प्राप्त गरेका छन् भने बिसीले एक सय ३२ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा मोहनबहादुर बडुवालले तिन सय ४६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी तारा केशर गौतमले जम्मा एक सय ३० मत प्राप्त गर्नु भएको छ। यस्तै, सचिवमा डम्बर तिवारीले दुई सय ९१ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डन्डीप्रसाद शर्माले एक सय ८९ मत प्राप्त गरेका छन्।
यस्तै उप–सचिव खुलामा टिकाराम सोमैले तिन सय २४ मत र उपसचिव महिलामा सुशीला विश्वकर्माले तिन सय ३३५ मत प्राप्त गरेर निर्वाचित हुनु भएको छ। नेकपा एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान सुरु भएर बेलुका ६ बजेसम्म सकिएको थियो। सदस्यहरूको मतगणना जारी छ। निर्वाचनमा कुल चार सय ९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए । चैत ८ गते बिहीबारदेखि नवौँ अधिवेशन सुरु भएको थियो ।


