बेइजिङ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ आइपुगेका छन्।
बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले श्रेष्ठलाई स्वागत गरेका थिए।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्।
चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ।
उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन्।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ।
उनी आइतबार राती ११ बजे चीनका लागि प्रस्थान गरेका थिए।
उनी चीनमा रहँदा गर्ने कार्यक्रम भने गोप्य राखिएको छ।
मन्त्रीको ९ दिन लामो भ्रमणका एजेन्डा गोप्य राखिएको विषयमा आलोचना सुरु भएको छ।
मन्त्री श्रेष्ठ बुधबार चोङछिङ पुग्नेछन्। बिहीबार पर्यटन प्रदर्शनीमा सहभागी हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
त्यसपछि श्रेष्ठ शुक्रबार ल्हासा जानेछन्। शनिबार मानसरोवर पुगेर मन्त्री श्रेष्ठ चैत १८ गते छेन्दु पुग्ने तालिका छ।
उनी चैत १९ गते काठमाडौं फर्कनेछन्।
सत्ता समीकरण अकस्मात परिवर्तन भएको एक महिना पूरा नहुँदै परराष्ट्रमन्त्री श्रेष्ठ एजेन्डा गोप्य राखेर चीन जान लागेका कारण संशय व्यक्त गर्नेहरुलाई बल पुगेको राजनीतिक विश्लेषकको भनाइ छ।
सत्ता समीकरण फेरबदलमा उत्तरी छिमेकी चीन खुशी व्यक्त गरिरहेको बेला परराष्ट्रमन्त्रीको ९ दिन लामो भ्रमण र त्यसका एजेन्डा गोप्य राखिएकाले शंका गर्नेलाई बल पुगेको टिप्पणी भइरहेको छ।
कतिपयले श्रेष्ठको भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबारे छलफल हुने शंका व्यक्त गरेका छन्। चीनसँग ७ वर्षअघि नै बीआरआई कार्यान्वयनको सम्झौता भएपनि नेपालले अहिलेसम्म बीआरआई अन्तर्गत कार्यान्वयन गरिने आयोजना छानेको छैन।
चीनले महँगो ब्याजदरमा ऋण लिन नेपाललाई आग्रह गरिरहेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत अन्तिम साता अनुदान पाए बीआरआईअन्तर्गतका परियोजना अघि बढाउने तर ऋण भने स्वीकार गर्न नसकिने बताएका थिए।
चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि दिएको ऋणको ब्याज महँगो भएको भन्दै आलोचना भइरहेको छ।
गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि एक साता चीन भ्रमणमा रमाएका थिए।
