काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’ले दीर्घकालीन उद्देश्यका साथ एमालेसँग सहकार्य सुरु भएको बताएका छन्। उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘ऐतिहासिक रिअलाइजेसन’ भएको उल्लेख गर्दै वामपन्थी सहकार्य सुरु भएको दाबी गरे।
माओवादी वाग्मती प्रदेश अन्तर्गत केन्द्रीय सदस्यहरूको भेलालाई सोमबार सम्बोधन गर्दै दाहालले वामपन्थी सहकार्यको ढोका खुलेको भन्दै यसले एकताको आधार तयार गर्ने बताए।
‘हामीबीच सहकार्यका लागि ऐतिहासिक रिअलाइजेसन भएको छ,’ उनले भने, ‘दीर्घकालीनरुपमा अघि बढ्ने उद्देश्यका साथ यो समीकरण बनेको छ।’ उनले आफू र ओलीले गरेको रिअलाइजेसनबारे भने थप व्याख्या भने गरेनन्। उनले प्रतिनिधिसभामा वामपन्थी शक्तिनै बलियो भएको हुनाले गैरवामपन्थी सरकारको सम्भावना नभएको दाबी गरे। ‘गैरवामपन्थी सरकार बन्ने सम्भावना देखिँदैन’ उनले भने।
उनले कांग्रेससँग गठबन्धन हुँदा समाजवादी आधार तयार गर्ने सम्भव नभएकाले नयाँ समीकरण बनाएको समेत दाबी गरे। ‘कांग्रेससित समाजवादी कार्यक्रम अघि बनाउन सम्भव भएन,’ उनले भने, ‘अब समाजवादको आधार तयार गर्ने गठबन्धन बनेको छ। नयाँ ढंगले जानुपर्ने हुन्छ।’
दाहाल एमाले र माओवादबीच हतारमा पार्टी एकता नहुने समेत बताए। ‘पहिले हतारमा एकता गर्दा बिग्रियो, अब पार्टी एकताका लागि हतार गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘वामपन्थीबीच दीर्घकालीन सहकार्य हुन्छ।’
उनले अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चा सक्रिय हुने बताए। ‘तत्काल एमाले समाजवादी मोर्चामा सहभागी नभए पनि समर्थन छ,’ उनले भने, ‘यो सरकारका लागि सहयोगी नै बन्छ।’


