काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सभापति रवि लामिछानेका विषयमा प्रश्न गर्न पनि नपाउने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।
दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै नवलपरासीको प्रतापुरमा पुगेका थापाले गृहमन्त्रीसमेत रहेका रविका विषयमा यस्तो टिप्पणी गरेका हुन्।
‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। अरू पार्टी हेर्नुस् त! एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बाभन्दा मुनि सबै जना हुने,’ रास्वपाका सभापति लामिछानेका विषयमा थापाले टिप्पणी गरे, ‘नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगे पनि, लुटे पनि सहनैपर्ने दिन आयो।’
प्रतापपुर नवलपरासी क्षेत्र नम्बर १ मा पर्छ। यो क्षेत्रबाट गत प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट विनोद चौधरी निर्वाचित भएका थिए।
रवि लामिछाने गृहमन्त्री बनेलगत्तै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा अवैध रूपमा निजीकरण गरी आफ्नो कम्पनीको स्वामित्वमा ल्याएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसँग बयान लिएको थियो।
चौधरीको बयान लिनुअघि नै सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर सांसद चौधरीमाथि अनुसन्धान भइरहेको बताएको थियो। तर यसरी कुनै सांसदमाथि अनुसन्धान भइरहेको अवस्थामा संसद सचिवालय वा सभामुखलाई जानकारी दिनुपर्ने कानुनी व्यवस्था छैन। सांसद चौधरीको विषयमा सभामुखलाई पत्र पठाएर गृहमन्त्री लामिछानेले ‘स्ट्न्ट’ गरेको भन्दै आलोचना भएको थियो।
उता प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले चौधरीका विषयमा अनुसन्धान भइरहेको भनेर संसद सचिवालयलाई पत्र लेख्नु आफूहरूको गल्ती भएको भन्दै क्षमायाचना गरेका छन्।
देशका विभिन्न स्थानका सहकारीबाट गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम गैरकानुनी तवरबाट प्रयोग गरेको विषयमा उजुरी परेको छ। पोखरा महानगर पालिकाले गरेको अनुसन्धानमा रविले अवैध तवरबाट सहकारीको रकम लिएर गोर्खा मिडिया प्रालि (ग्यालेक्सी टीभी)मा लगानी गरेको खुलासा भएको छ।
उक्त विषयमा रविले गरेका ठगीका विषयमा अनुसन्धान तथा अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसदमा विरोधका कार्यक्रम गर्दै आएको छ। रविले भने आफूविरुद्ध कुनै पनि उजुरी नपरेको तर आफूलाई जानकारी नै नदिई जीबी राईले आफ्नो नाममा कारोबार गरिदिएको जिकिर गर्दै आएका छन्। ग्यालेक्सी टीभीमा लगानी गरेका जीबी रविका साझेदार हुन्।
राज्य व्यवस्थामा आईजीपी कुँवरले जीबी मलेसियमा लुकेर बसेको तर उनलाई नेपाल ल्याउन मलेसिया र नेपालबीच सुपुर्दगी सन्धि नभएकाले अप्ठेरो परेको जिकिर गरेका थिए। रविले सहकारी ठगीमा आफू निर्दोष रहेको तर जीबीलाई उन्मुक्ति दिने पक्षमा आफू नभएको दाबी गर्दै आएका छन्।


