हेटौंडा- हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदमा शपथ लिएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा बज्राचार्यलाई नियुक्त गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग शपथ लिएका हुन्।
उनले नेपाल भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन्।
हाम्रो नेपाली पार्टीले जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन ९ चैतमा फिर्ता लिएको थियो।
समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य साेही सरकारकाे मन्त्री बनेका छन्। हाम्रो नेपाली पार्टीले यसअघि ४ चैतमा विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दबाबका बीच जम्कट्टेलले सरकार विस्तारलाई अगाडि बढाएका हुन्।
उनले २२ चैतभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ।
बागमतीमा सत्ता गठबन्धनलाई सरकार बनाउन हाम्रो नेपाली पार्टीको समर्थन निर्णायक बनेको छ।
सरकार बनाउन ५६ मत चाहिनेमा गठबन्धनका दल एमालेको २७, माओवादीको २१ र नेकपा एकीकृत समाजवादीको ७ सहित ५५ सिट मात्रै थियो। यसमा हाम्रो नेपाली पार्टीको २ मत थपिएको छ।
प्रदेशसभामा नेपाली कांग्रेसको ३७, राप्रपाको १३ र नेमकिपाको ३ सिट छ।
