काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा गएको पहिलो सातामा नै चौकाछक्का हान्न थालेको जिकिर गरेका छन्।
इलाम २ को उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। ‘सरकारमा गएको पहिलो हप्तामा नै हामीले चौका छक्का हान्न थालिसेका छौँ,’ उनले जिकिर गरे। आफूहरूले जनतामा आशा जगाएको उनको भनाइ थियो।
अहिलेसम्म व्यक्तिले जिते पनि इलामले हारिरहेको भन्दै अब नेतृत्व परिवर्तन गर्न आग्रह गरे। जनताले देखेको आशा र आकांक्षालाई पूरा गर्ने शर्तसहित आएकाले घण्टीमा भोट हाल्न सोच्न नपर्ने बताएका छन्।
‘अहिलेसम्म व्यक्ति र पार्टीले जित्यो, इलामले सधैं हारिरह्यो। यदि इलामले जित्थ्यो भने इलामवासीले यति धेरै समस्या भोग्नुपर्दैनथ्यो। इलामको समस्याको समाधान गर्न सकिने समय आएको छ। तर, समस्याको समाधान हुन सकिरहेको छैन,’ उनले भने, ‘त्यसलाई चिर्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ। त्यसका लागि पहिला नेतृत्व परिवर्तन गर्न आवश्यक छ। परिस्थितिले मिलन लिम्बूमार्फत् पूर्वमा रास्वपाले ढोका खोल्ने मौका पाएको छ।’
उनले आफ्नो दल त्याग नगरे पनि देश परिवर्तन गर्ने अभियानमा सहयोग गर्न घण्टीमा मत हाल्न आग्रह गरे। ‘पार्टीहरुले नेता र उम्मेदवारहरु त दिए। तर, उनीहरुले अवसरलाई व्यक्तिगत लाभलाई प्रयोग गरेर मुलुकलाई हरिकंगाल बनाए। जसले मुलुकको यो हालत बनाए, उनैलाई भोट त म दिन्नँ भन्नुस्। म स्पष्ट आग्रह गर्छु तपाईंहरुलाई पार्टी त्याग्न पर्दैन, अब घण्टी चुनाव चिन्ह आएको छ, अब सोच्नु पर्दैन।’
वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार खडा गरेको छ।


