काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो।
कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक विषयमा छलफल देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन्।
सभापति शेरबहादुर देउवाले चैत १८ गते उम्मेदवार तय गर्ने बताएका थिए।
महामन्त्री विश्वप्रकाश शर्मा स्थलगत अवस्था बुझेर फर्केपछि टुंगो लगाउने भनिएकाले थप दुई दिन ढिलो भएको खड्काले हो।
कार्यसम्पादन समिति उम्मेदवारबारे छलफल गराएर संसदीय बोर्डबाट अनुमोदन गर्ने तयारी छ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले ७ जनालाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएको थियो।
इलाम-२ मा एमालेले पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर निर्वाचन क्षेत्रमा खटाइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाइसकेको छ।
मिलन केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर रास्वपामा प्रवेश गरेका हुन्।
उनले सुरुमा माओवादीबाट उम्मेदवार बन्ने चाहना राखेका थिए।
लिम्बू दृष्टि साप्ताहिकका सम्पादक हुन्। यसअघि उनले रास्वपा सभापति रवि लामेछानेसँग पनि काम गरेका थिए। रास्वपाले बझाङ प्रदेश सभा ‘क’मा भने उम्मेदवारी नदिने बताइसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्। गुरुङ राप्रपाको शिक्षा विभागमा सदस्य छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ। पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको राउतको दाबी छ।
मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध भएका थाम्सुहाङलाई जनमतले तानेर टिकट दिएको हो।
२०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच एकता भएको थियो। लोसपाले उनलाई तत्कालीन प्रदेश १ को इन्चार्जका साथ कार्यसम्पादन समिति सदस्य बनाएको थियो।
यस्तै पहिचानवादीले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्। चैत १ गते प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्र थेगिमलाई साझा उम्मेदवार घोषणा गरिसकेका छन्।
थेगिमलाई उम्मेदवार घोषणा गर्दै किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्लेन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत राई यायोक्खाका अध्यक्ष जीवन राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले संयुक्त वक्तव्य जारी गरेका छन्।
माओवादी कोशी प्रदेशले ४ जनालाई उम्मेदवार बनाउनका लागि केन्द्रमा सिफारिस गरेको छ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ।
