काठमाडौँ– मंगलादेवी फाउन्डेसनले १२ महिलालाई सम्मान गरेको छ। नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहकी धर्मपत्नी तथा राजनीतिक अगुवा मंगलादेवीसँगै काम गरेका १२ जनालाई फाउन्डेसनले सम्मान गरेको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
देउवाले सम्मानित हुनेहरूलाई नगद र कदरपत्र प्रदान गरेका थिए। नेपाली राजनीतिक इतिहासमा योगदान पुर्याउने महिलाहरूको कदर गर्दै फाउन्डेसनले सम्मान कार्यक्रम गरेको फाउन्डेसन अध्यक्ष सिर्जना सिंहले जानकारी दिइन्।
यसरी सम्मानित हुनेमा धनुषाकी लीला कोइराला, भाजपुरकी लक्ष्मी राई र दोलखाकी अञ्जु बस्नेत छन्।
यस्तै काठमाडौँकी कृष्ण अमात्य, टोना भण्डारी, सखी रिमाल, सांसद विष्णुदेवी पुडासैनी, दिनहीरा शाक्य रञ्जितलाई पनि फाउन्डेसनले सम्मान गरेको हो। संखुवासभाकी सीता दाहाल, सर्लाहीकी हनी श्रेष्ठ, कास्कीकी सारदा वैद्य र कञ्चनपुरकी शान्ता शर्मालाई सम्मान गरिएको हो।
कार्यक्रममा कल्याणी रिजाल, भारती सिलवाल गिरी, विष्णुदेवी पुडासैनी, कांग्रेस सहमहामन्त्री डीना उपाध्याय, नेपाल महिला संघकी सभापति उषा राउत मिश्र र कांग्रेस नेता प्रकाशमान सिंहले स्व. मंगलादेवीको भूमिका र योगदानबारे चर्चा गरेका थिए।












