काठमाडौँ– नेकपा एकीकृत समाजवादीले अन्ततः बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले नेकपा एसलाई लचक बनाएको हो।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट सोमबार नै विश्वासको मत लिने कार्यसूची छ।
‘बागमती प्रदेशमा हामीले विश्वासको मत दिने र हामीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ,’ खनालले भने।
कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो।
सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन्।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ।
बागमती प्रदेशसभामा गठबन्धनतर्फका एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ। २ सांसद भएको हाम्रो नेपाली पार्टीले पनि जम्कट्टेललाई सघाउने भएको छ। यसो गर्दा जम्कट्टेलले विश्वासको मत पाउने सम्भावना छ। यद्यपि हानेपामा विवाद कायमै छ।
प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन्। उनीहरूले आफूहरू विपक्षमा रहने बताइसकेका छन्।


