धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शाहले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
चैत २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए।
चैत २१ गते ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।
२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।
अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १/१ जना संसद छन्।
५३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र नाउपाका ७ का साथै राप्रपा र स्वतन्त्रका एकएक जनाले पनि आफूलाई समर्थन गर्ने अपेक्षासहित शाहले विश्वासको मत लिने तयारी अघि बढाएका हुन्।
नाउपामा भने यो विषयमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ। यही विषयको विवादका कारण काठमाडौँमा नाउपा कार्यालयमा कुटाकुट भएको थियो।
कुटाकुटमा उत्रिएको भन्दै रञ्जिताले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छन्।


