सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबारका लागि तय भएको प्रदेशसभाको बैठक बुधबारका लागि सारिएको हो।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०।१२।२० गते कर्णाली प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेकोमा विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०।१२।२१ गते सारी प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन पुनः कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेको छु’, मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा भनिएको छ।
सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ।
माओवादी केन्द्रका केही नेताले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राख्दै आएका छन्। यसपछि माओवादीमा विवाद छ। उता प्रचण्डले भने राजीनामा दिएर एमालेले बनाउने मुख्यमन्त्रीलाई सहयोग गर्न मुख्यमन्त्री शर्मालाई निर्देशन दिइसकेका छन्।
कर्णालीका मुख्यमन्त्री शर्मा पार्टीका उपमहासचिव जनार्दन शर्मा निकटका मानिन्छन्। जनार्दनलाई साइजमा राख्न प्रचण्डले कर्णालीको मुख्यमन्त्री पद एमालेलाई दिने सहमति गरेपछि शर्मा निकटका नेताहरू प्रचण्डप्रति आक्रोशित छन्।
उक्त विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो।


