पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्।
राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक बोलाएका पाण्डेले राजीनामा दिन लागेको जानकारी गराएका थिए।
बैठकपछि सरकारकी प्रवक्ता एवम् ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्रीले राजीनामा दिने लागेको बताइन्।
फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो।
तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।
गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो।
गण्डकीमा एमालेका २२, माओवादीको सभामुखसहित ८ जनाले मात्रै सरकार बन्ने स्थिति छैन।
२ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन्। एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएपनि बहुमत जुटाउन नसक्दा राजीनामा दिनुपर्ने अवस्थामा पुगेका हुन्।


