काठमाडौँ- नेपाली टिमका ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न नसकेपछि नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड ‘ए’ विजयी भएको छ।
बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ‘ए’ टोली २१ रनले पराजित भएको हो।
सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अलआउट हुन पुग्यो।
नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए।
देव खनालले २६ रन बनाएका थिए। यस्तै बासिर अहमदले २० रन जोडे। रिजन ढकालले १२ रन जोडेका थिए।
बाँकी ब्याटस्म्यानले दोहोरो अंक बनाउन सकेनन्। मौसम ढकाल, आरिफ शेख र भीम सार्की शून्य रनमा आउट हुन पुगेका थिए।
बलिङतर्फ नेपालका कमल ऐरीले ४ विकेट लिएका थिए।
मौसम ढकाल र साहब आलमले १-१ विकेट लिँदा रिजन ढकालले १ विकेट लिएका थिए।
उता आयरल्यान्डका म्याथ्यु हम्फ्रीले ५ र लिआम म्याकार्थीले ४ विकेट लिएका थिए।
दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ।
सिनियर टोलीसँगको दुई खेलको सिरिज आयरल्यान्डले २-० ले नै गुमाएको थियो।
नेपाल ‘ए’सँगको तीन खेलको टी२० सिरिज २-१ ले जितेको थियो।
