काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ।
राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं।’
नयाँ गठबन्धन बनेपछि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने उल्लेख थियो।
तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उक्त विषय हटाइएको थियो।
यसपछि उपाध्यक्ष पद आफूहरुले पाउने नेकपा एसका नेताहरूले जिकिर गर्दै आएका थिए।
तर गठबन्धन छलफल नै नगरी एमालेले उम्मदेवार तोकेपछि नेकपा एस एमालेप्रति असन्तुष्ट बनेको छ।
यसअघि वैशाख १५ मा हुने प्रतिनिधि सभा/प्रदेशसभा निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा पनि कुनै छलफल नगरी एमालेले उम्मेदवार तोकेको थियो।
नेकपा एसले बझाङ ‘क’मा आफूहरूलाई सघाउने एमालेलाई आग्रह गरेको थियो। तर एमालेले नेकपा एसको मागप्रति कुनै चासो देखाएको छैन।
राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ।


