काठमाडाैँ- कर्णालीमा सरकार गठनका लागि दिइएको माद आज सकिँदै छ।
मुख्यमन्त्री राजकुमार शर्माले चैत्र २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले चैत्र २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।
प्रदेश प्रमुख परियारले दिएको म्याद आज ५ः५०मा सकिने छ।
केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार एमालेको भागमा परेको कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कडेँलले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन्। कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चैत २१ गते राजीनामा दिएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ। नयाँ सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ सिट रहेकाले सहज बहुमत पुग्छ।
यसैगरी नेपाली कांग्रेसका १४ तथा राप्रपा र स्वतन्त्र एकएक जना प्रदेश सभा सदस्य छन्।
