काठमाडौँ- नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ।
एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ।
फागुन २१ गते नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीच आठ बुँदे सहमति हुँदा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने थियो।
फागुन ३० गते एकीकृत समाजवादी पनि गठबन्धनमा थपिँदा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने सहमति हटेको थियो। अहिले एमालेले उम्मेदवारी दिने निर्णय गरिसकेको छ।
तर एमालेले उम्मेदवार तय गरिससक्दा पनि मौन बसेको नेकपा एसले फेरि गठबन्धनको बैठकमा आफ्नो दलका लागि उक्त पद दिन मागदाबी गरेका छन्।
नेकपा एसले दाबी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच छलफल भइरहेको छ।
मंगलबार नै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्य तालिका भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेता छलफलमा छन्।
राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दलका रूपमा रहेको छ। अध्यक्षसहित माओवादीका १८ सांसद छन्।
नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ सांसद छन्। जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चा एक सांसद छन्।
५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन्।
चैत २८ गते (भोलि) राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।


