काठमाडौँ- वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबारबाट आचारसंहिता लागू हुने भएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिसका आधारमा आचारसंहिता लागू गराउन लागिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइसकेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू गराउन निर्देशन दिइएको बताएका छन्।
राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोग सम्बन्धी विषय र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण लिन पनि आयोगले निर्देशन दिएको छ।
यस्तै उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा तीन दिन विद्यालय बन्द हुने भएको छ।
निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेकाले वैशाख १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ। निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ।
यसैगरी इलाम–२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।
कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका–११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ।
उम्मेदवारविरूद्ध आइतबारसम्म उजुरी गर्ने समय रहे पनि कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय इलाममले जनाएको छ।
सोमबार कार्यालयले मनोनयन जाँचबुझ गर्दै सबै मनोनयनकर्ताको नामावली प्रकाशन गरेको थियो।
मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार योङहाङ लिम्बु तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ।
