काठमाडौँ– हिमालय एअरलाइन्सले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयासलाई सहयोग गरिएको एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकालाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्ता लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन्।
वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको जानकारी गराउन सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमण गराएको, विपन्न तथा अनाथ बालबालिकालाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गर्ने उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने काम गरेको भन्दै कम्पनीले परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्यका साथ यो गरिएको बताएको छ।
एयरलाइन्सले सन् २०१७ देखि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपन्न तथा अनाथ बालबालिकालाई शिक्षाको माध्यमबाट सशक्तीकरणमा सहयोग गर्दै आएको एयरलाइन्सले बताएको छ।
हिमालय एअरलाइन्स नेपाल–तिब्बतबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो। सन् २०१४ मा स्थापित एयरलाइन्सले ४ वटा विमानबाट सेवा दिँदै आएको छ।
तीन एयरबस ३२० – २१४ (१८० सिट) र एक एयरबस ३१९–११५ (१४४ सिट) भएका जहाजमार्फत हिमालयले मध्यपूर्व र दक्षिण एसियाका संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा उडान सेवा प्रदान गर्दै आएको छ।



