काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशलाई स्थिरता दिन कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताएका छन्।
लुम्बिनीमा बुधबार आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन्।
सरकार गठन र विघटनलगायतका अहिलेका समस्याको जड निर्वाचन प्रणाली भएको बताएका उनले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताए। त्यसका लागि पनि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ।
‘कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने? जनताका काम कहिले गर्ने? विकास कहिले गर्ने,’ कोइरालाले प्रश्न गर्दै थपे, ‘परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नपर्यो। त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ।’
संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको तर दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बनेपछि संविधान बनाएको इतिहास स्मरण गराएका थिए।
गौतमबुद्धको पवित्रभूमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिँड्ने प्रण गर्दै देश बनाउने अभियानमा लाग्ने अठोट गर्न सबैलाई आग्रह गरे। कोइरालाले सत्यको बाटो अप्ठेरो हुने तर जित सत्यकै हुनेसमेत बताए।


