काठमाडौँ- बिहीबार साँझ पानी परेपछि काठमाडौँ उपत्यकाको प्रदूषण कम भएको छ। मौसमविद् गाेविन्द झाले काठमाडौँ उपत्यकामा हल्का पानी परेकाले वायु प्रदूषण कम भएको बताएका छन्।
काठमाडौँ उपत्यकाको वायुमण्डलमा थुप्रिएका प्रदूषणका कणहरुलाई पानीले तल झारेको छ। आकास खुलेको छ भने काठमाडौँ नजिकका पहाडहरु देखिन थालेका छन्।
विश्वको सबैभन्दा बढी प्रदूषित बन्न पुगेको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार भएको छ। केही दिन पानी नपर्दा वायुको गुणस्तर मापन इन्डेक्स २ सय माथि थियो भने पानी परेपछि यो इन्डेक्स क्रमशः तल झरिरहेको छ।
नेपालको गण्डकी प्रदेशमा स्थानीय वायु प्रणाली विकसित भएकाले अझै पानी पर्न सक्ने मौसमविद् झाले जानकारी दिए। स्थानीय वायुको प्रणाली गोर्खा हुँदै काठमाडौँ उपत्यकातिर सरिरहेको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सुन्दरीजलमा ९ मिलिमिटर वर्षा भएको छ। यसैगरी कीर्तिपुरमा ७.२ मिलिमिटर वर्षा मापन भएको छ।


