काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बित गरेकी छन्।
अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको बताएकी हुन्।
पटकपटक बोलाउँदा पनि पार्टीमा छलफलका लागि उपस्थित नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको रञ्जिताको हस्ताक्षर भएको पत्रमा उल्लेख छ।
पछिल्लो समय नाउपा पार्टीमा चरम विवाद छ। रञ्जिता र पार्टी संरक्षक रेशमबीच विवाद हुँदा रञ्जिताले रेशम पक्षका नेताहरूलाई भटाभट कारबाही गरिरहेकी छन्।
यसअघि रञ्जिताले घनश्याम चौधरीलाई नाउपा प्रदेश संसदीय दलको नेताबाट हटाएकी थिइन्।
चौधरीलाई घनश्यामलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएकी थिइन्। कैलाश रञ्जिता निकटका नेता हुन्। तर घनश्याम चौधरीनिकट छन्।
रञ्जिताले नाउपा प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पनि हटाएकी छन्। समानुपातिक सांसद गिरीलाई उनको पार्टीले फिर्ता बोलाएको पत्र पठाएपछि सभामुखले पदमुक्त गराएका थिए। उनी पनि रेशम निकट सांसद हुन्।


