काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्।
मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ प्रदेशसभा सदस्यले विश्वासको मत दिए।
विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद थिए। राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित भए।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


