काठमाडौँ- आज सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दिइएको समय सीमा सकिँदै छ।
आज समय सकिने भए पनि अहिलेसम्म कसैले पनि सरकार गठनको लागि दाबी पेस गरेका छैनन्।
निर्णायकको भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने गरी नयाँ गठबन्धनमा सहमति भएको बताइएको छ। तर, पार्टी भित्रको आन्तरिक विवादका कारण कसलाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने भन्ने विषय टुङ्गिएको छैन।
नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।


