धनगढी– सुदूरपश्चिम प्रदेशमा कांग्रेससहितका तीन दलबीच नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणलाई मुख्यमन्त्री बनाउन सहयोग कांग्रेस र नेकपा एसले सहयोग गर्ने भएका हुन्।
यद्यपि यो समझदारीमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको भने सहमति छैन। रञ्जिताले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी थिइन्।
कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका हुन्।
समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता शाहबीच लक्ष्मणलाई मुख्यमन्त्री बनाउने समझदारी बनेको हो।
लक्ष्मणलाई कांग्रेसका १८, समाजवादीका ४ र ४ जना नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरूले समर्थन गर्नेछन्।
यसो गर्दा सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक मत उनीहरूको पुग्ने उनीहरूको दाबी छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ। एक जनाका निधन भएको छ।
नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुने उनीहरूको भनाइ छ।
सुदूरपश्चिममा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्।
नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन्।
