काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन्।
आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ। अब राजा आउने सम्भावना छैन।’
सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने बताए।
‘विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन्,’ देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यही व्यवस्था उपयुक्त भएको उल्लेख गर्दै थपे, ‘त्यसैलै बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन।’
