काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ सालभर बालुवाटार र सिंहदरबारतिर फर्केर पनि नहेर्न प्रस्तवा गरेका छन्। २०८१ साललाई पुनर्जागरणको वर्ष बनाउनु पर्ने भन्दै महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सारेका हुन्।
संवाद यात्राको तेस्रो चरणअन्तर्गत आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले साना दलले ठूला दललाई तर्साउने वातावरण पनि अन्त्य गर्नुपर्ने बताए।
‘२०८१ सालभर बालुवाटारतिर आँखा नलगाउने, सिंहदरबारतिर आँखा नलगाउने,’ थापाले थपे, ‘कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु भएको छ। चलाउन दिऔं। उहाँहरूले मजाले चलाउनुस्। हामीले फर्केर पनि नहेरौं।’
उनले एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव पनि गरेका छन्। ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं।’
निर्वाचन अगाडि गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरेको जस्तै नेकपा एमालेलाई त्यस्तै निर्णय गराउन संवाद आवश्यक रहेको उनले बताए ।
‘त्यो कसरी पुर्याउन सकिन्छ? निर्वाचन प्रणाली बदलेर सकिन्छ। सकिन्छ भने संविधान बदलौं। सकिन्न भने कानुन भए पनि बदलौं,’ थापाले भने। एमालेसँगको छलफल सरकार बनाउन केन्द्रित नहुने उनले बताए।


