काठमाडौँ- सरकारले ५ जना सचिवहरूको सरुवा गरेको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदले ५ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्।
बैठकको निर्णय सूची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव बनाएर पठाइएको छ।
प्रधानमन्त्री कार्यालयमै रहेका अर्जुनप्रसाद पोखरेललाई प्रमुख तथ्यांक अधिकारी बनाएर राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ।
यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
उपराष्ट्रपतिको कार्यालयमा रहेका मुकुन्दप्रसाद निरौलालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बनाइएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगमा पठाइएको शर्माले जानकारी दिइन्।
यस्तै सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
नेपाल—बंगलादेश वाणिज्य सचिवस्तरीय सातौँ बैठकको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य तथा आपूर्तिको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।
हेटौँडा—प्रमाणीपुर—पोखरीया १३२ केभी प्रसारण लाइन आयोजनाको अधिकार क्षेत्र (राइट अफ वे र) भित्र पर्ने निजी जग्गा र संरचनाको क्षतिपूर्ति निर्धारण गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्षमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई र सदस्यमा विद्युत् विकास विभागका सिडिईलाई तोक्ने निर्णय समेत भएको शर्माले जानकारी दिइन्।
यस्तै डेडिकेटेड फिड ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद निरूपण गर्न रायसहित प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गरिएको प्रवक्ताको भनाइ छ।


