काठमाडाैँ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजराइलमाथि तेहरानको आक्रमणको निन्दा गरेका छन्। उनले रुस र इरानको ‘आतङ्कवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गरेका छन्।
‘इरानको कारवाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको कारवाहीबाट ठूलो सङ्घर्षको खतरा छ’, सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, ‘आतङ्कवाद फैलाउनमा दुवै शासनबीचको स्पष्ट सहयोगले संसारबाट दृढ र एकजुट प्रतिक्रियाको सामना गर्नुपर्छ, युक्रेन शाहिद ड्रोन र मिसाइलमार्फत इजराइलमाथि इरानको आक्रमणको निन्दा गर्दछ।’
रुसले युक्रेनविरुद्ध युद्धमा ठूलो सङ्ख्यामा इरानी ड्रोनको प्रयोग गरेको छ तथा जेलेन्स्कीले युक्रेन र इजराइलको अनुभवलाई जोडेका छन्। ‘हामीले युक्रेनमा रुसले गरेको यस्तै प्रकारको आक्रमणहरूको भयावहतालाई राम्रोसँग जानेका छौँ, रुसले पनि उस्तै हवाई हमलाको रणनीतिमार्फत समान ‘शाहिद’ ड्रोन र रुसी मिसाइलहरूको ठूलो मात्रामा प्रयोग गर्दछ।’
युक्रेनमा धेरै मानिसले मिसाइल र ड्रोन हमलालाई रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई उद्धृत गर्दै शनिबार इजराइलका लागि आएको पश्चिमी समर्थन युक्रेनका लागि आएको समर्थनभन्दा धेरै भएको गुनासो गरेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘ठोस सहायता’ ले मात्र मिसाइल र ड्रोन हमलालाई रोक्न सक्ने बताए। साथै उनले युक्रेनका लागि अमेरिकी युद्ध सहायता जारी राख्न अपिल गरे। अमेरिकी कांग्रेसमा लामो समयदेखि उक्त सहायता प्याकेज रोएिको छ।
‘अमेरिकी कांग्रेसले यो महत्त्वपूर्ण समयमा अमेरिकाका सहयोगीहरूलाई बलियो बनाउनका लागि आवश्यक निर्णय लिनेछ भन्ने महत्त्वपूर्ण छ’, उनले भने।
