काठमाडौँ- सुदूरपश्चिमले अझै सरकार पाउन सकेको छैन। फरक खालको गठबन्धन बनेपछि सुदूरले सरकार पाउन नसकेको हो। सुदूरमा सरकार गठनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले कांग्रेससँग मिलेर सरकार गठनको प्रक्रिया गरिरहेको छ।
एकीकृत समाजवादी काँग्रेससँग मिलेपछि केन्द्रको राजनीतिमा पनि तरङ्ग पैदा भयो। नेकपा एमालेका अध्यक्षले माधवकुमार नेपालले गठबन्धन सरकार फुटाउन लागेको तर्क गरे। उनले कडा शब्दमा भने, ‘हिजोमात्रै, एस भन्ने पार्टी छ एउटा… कांग्रेसलाई जिताउने हिसाबले समीकरण कमजोर र असफल बनाउने कदम चाल्यो।’
ओलीको यस्तो तर्क सुनेपछि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि काठमाडौँमा उपलब्ध सचिवालय सदस्यसँग छलफल गरे। उनले केन्द्रमा आफू हेपिएका कारण सुदूरपश्चिमको कमद चाल्न बाध्य भएको बताए।
उनले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताए। उनले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए।
सरकार ढाल्न इशारा नै काफी भए पनि अहिले नै पार्टी त्यसतर्फ नलाग्ने अध्यक्ष नेपालको भनाई थियो। अध्यक्ष नेपालले यसअघि ओली र प्रचण्ड दुवैको आग्रहअनुसार आफूहरू सत्ता समीकरणमा जोडिएको बताएका थिए।
‘वामपन्थीको नेतृत्वमै रहेको गठबन्धन भएकाले सहभागी हुनुपर्छ भन्ने मान्यताअनुसार हामी सहभागी भएका हौ । तर गठबन्धनमा हामी संलग्न हुनुअघि ओली र प्रचण्डले जे कुरा गर्नुभएको थियो र जे सहमतिहरू भएका थिए। ती सहमति कार्यान्वयन गर्ने र पालना गर्ने कुरामा एकपछि अर्को छोड्दै गए। जसले गर्दा सुदूरपश्चिममा प्रकट हुन पुग्यो’, अध्यक्ष नेपालले भनेका थिए।
अध्यक्ष नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने सहमति भएपनि उक्त सहमति कार्यान्वयन नभएको बताएका थिए।
‘गठबन्धनबाट बाहिर गएजाओस् भन्ने र त्यसपछि नयाँ खालको परिस्थिति सिर्जना गरेर त्यसबाट नयाँ अवसरका लागि भूमिका खेलेको पनि हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘एकपछि अर्को सहमति पालना नगरेको अवस्था आयो, सुदूरपश्चिममा जे देखियो त्यो हाम्रो नीति भन्दा पनि त्यहाँका साथीहरूमा देखिएको असन्तुष्टि हो।’


