काठमाडौँ- सांसदहरूले समय पालना नगरेको भन्दै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन्।
आफूलाई साढे १० बजे बोलाएर पौने ११ सम्ममा पनि प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरु गर्नका लागि कोरम नपुगेपछि मन्त्री श्रेष्ठ असन्तुष्टि जनाउँदै बैठकस्थलबाट बाहिरिएका हुन्।
मंगलबार सिंहदरबारस्थित समितिको हलमा साढे १० बजे बैठक बोलाइएको थियो। सांसदहरूका प्रश्नको सामना गर्न मन्त्री श्रेष्ठ निर्धारित समयमा समितिको हलमा पुगेका थिए। मन्त्री हलमा पुग्दा एक जना मात्र सांसद सुनिता बराल मात्र रहेकी थिइन्।
समिति सभापति राजकिशाेर यादव मन्त्री पुगेको केही समयपछि हलमा पुगेका थिए।
मन्त्री मन्त्री श्रेष्ठले १५ मिनेटसम्म सांसदहरूलाई कुरेका थिए। तर पनि बैठक सञ्चालनका लागि कोरम पुगेन।
यसपछि मन्त्री श्रेष्ठ असन्तुष्ट बने।
सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बाहिए। मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए।
मन्त्री श्रेष्ठ निस्किएपछि समितिको बैठक नहुने भएको छ। अर्को बैठकको सूचना जारी गरिएको छैन।
