काठमाडौँ- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा ढिलाइ गरेसँगै नयाँ मोड आएको छ।
एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ मोड आएको हो।
एस संसदीय दलका नेता दीर्घ सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि लक्ष्मणलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको नेकपा एसको दाबी छ।
मंगलबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्तिको रञ्जिता पक्षको बैठकले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो।
‘समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई दिनुभयो, प्रदेश प्रमुखले के गर्नुहुन्छ भन्ने बाँकी छ,’ उनले भने।
बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीबीच छलफल भएको थियो।
बालुवाटार छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको खनालले बताएका थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गत चैत २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख मियाँले मुख्यमन्त्री दाबी पेश गर्न आइतबार बेलुका ५ बजेसम्मको समय दिएका थिए। उक्त समयभित्र उन्मुक्तिका दुई जनाको दाबी परेको थियो।
लक्ष्मणसहित रञ्जिता पक्षका कैलाश चौधरीले दाबी पेस गरेपछि संकट उत्पन्न भएको थियो।
