काठमाडौँ- नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले संविधानको व्यवस्था उल्लंघन गरिरहेको ठहर गरेको छ।
सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।
सत्ता गठबन्धनमा असन्तुष्टि माधवकुमार नेपाल भेटेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएका थिए।
बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमका विषयमा छलफल भएको एक पदाधिकारीले बताए।
सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँले सरकार गठनका लागि दिएको समय दुई दिन थप गरेको विषयमा कांग्रेसका नेताहरू असन्तुष्ट बनेका हुन्।
नेपाली कांग्रेससहितको समर्थनमा नाउपाका संरक्षक रेशम चौचरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुको सट्टा मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि समय थप गरेको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको हो।
मियाँले नाउपाका दुई जनाको दाबी परेकाले दुवै जनाको दाबीलाई अस्वीकृत गरी २ दिन समय दिएर संविधानको मर्मलाई बेवास्ता गरेको कांग्रेसको दाबी छ।
प्रदेश प्रमुख मियाँले दिएको समय बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
उक्त समयसम्ममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले प्रयास गरिरहेका छन्।
तर नेकपा एमालेले उनलाई समर्थन गर्ने विषयमा उदार हुन सकेको छैन। एमालेले साथ नदिएपछि बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका सोडारी रोकिएका छन्।
एमालेले साथ नदिने छनक बुझेपछि नेकपा एसका अध्यक्ष देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।
दुई शीर्ष नेताबीचको छलफलमा वैकल्पिक गठबन्धन बनाउने प्रयास जारी राख्ने विषयमा छलफल भएको बताइएको छ।
यस्तै एमाले सोडारीलाई मुख्यमन्त्री बनाउन तयार नभए कांग्रेसलाई समर्थन गर्न पनि देउवासँग नेपालले आग्रह गरेका थिए। यसपछि देउवाले शीर्ष नेतालाई निवासमा बोलाएर राय लिएका हुन्।


