काठमाडौँ- गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राप्रपाले प्रदेश सभा बैठक बहिष्कार गरेका छन्।
प्रतिपक्षी बेन्च खाली भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित गरिएको छ।
सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी दलका सांसदलाई बैठकमा सहभागी हुन आह्वान गरे पनि उपस्थित नभएपछि बैठक स्थगित गरे।
गण्डकीका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी सरकार गठन र प्रदेश सभा बैठक आह्वान असंवैधानिक दाबी गर्दै शुक्रबार नै सभामुख धिताललाई विरोधपत्र बुझाएका थिए।
बैठकमा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो।
सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न भनेका बेला सत्ता पक्षले सभामुख र प्रदेश प्रमुखलाई समेत दलीयकरण गरेर बलमिच्याईं गरेको प्रतिपक्षीको आरोप छ।
गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे गरी ६० सांसद छन्।
गण्डकीमा सरकार बनाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।
एमाले नेता अधिकारीले सभामुखसमेत जोडेर ३१ जना सांसद पुर्याएको भन्दै चैत २५ गते मुख्यमन्त्री दाबी गरेका थिए।
प्रदेश प्रमुख भट्टले सोही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
प्रदेश प्रमुखको उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ।


