बुटवल- बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका ४ जना अभियुक्त धरौटी बुझाएर रिहा भएका छन्।
रुपन्देही जिल्ला अदालतले ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिए पनि ४ जना अभियुक्त मात्र धरौटी रकम बुझाएर रिहा भएका हुन्।
यसरी रिहा हुने अभियुक्तहरूमा दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापामगर र रोशनी गुरुङ छन्। पाण्डेसँग १८ लाख, न्यौपानेसँग ४ लाख ४५ हजार, थापामगर र गुरुङसँग २–२ लाख रुपैयाँ धरौटी माग भएको थियो।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशकुमार पुन र नवीन अछामीले भने धरौटी रकम बुझाउन सकेका छैनन्।
अदालतले पुन र अछामीसँग क्रमशः ४ लाख र १० लाख धरौटी माग गरेको छ।
न्यायाधीश डा दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ।
अभियुक्तहरू कुमार रम्तेल र भविश्वर अर्याल कास्की कारागारमा छन्। उनीहरूलाई झिकाउने आदेशसमेत भएको छ।
यो सहकारीमा ठगीका मुख्य नाइके जीबी राई भने फरार छन्।
वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो।
ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो।
सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।


