कञ्चनपुर- राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका-१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ।
नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी २ करोड ६६ लाख ४९ हजार ५ सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो।
नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख इन्जिनीयर दीपक धामीका अनुसार ठेक्का सम्झौता भएको ११ महिनामा निर्माणको भौतिक प्रगति ६५ प्रतिशत भएको छ। आर्थिक प्रगति २२ प्रतिशत छ। ‘कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, १५० जना बस्नमिल्ने प्यारापिट निर्माण हुनेछ’, उनले भने।
कभर्डहल सञ्चालनमा आएपछि खेलाडीलाई अभ्यास गर्न सहज हुने पूर्वखेलाडी तथा तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमालले बताए।


