काठमाडौँ- वाम एकताका विषयमा ठूला दुई कम्युनिस्ट शक्तिहरूले समान धारणा व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ताधारी दलको मुख्य घटक नेकपा एमालेका अध्यक्षले एउटै मञ्चबाट समान प्रकृतिको धारणा अघि सारेका हुन्।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू पहिलेजस्तो हौसिएर कम्युनिस्ट एकताको पक्षमा नरहेको बताएए।
‘कम्युनिस्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ,’ उनले भने, ‘पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ। हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ। अहिले सहकार्य थालेका छौँ। राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ।’
यसपछि बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन अत्यन्त हानिकारक भएको तर अहिले फेरि त्यसबाट उठ्न लागेको बताएका छन्।
समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालका कम्युनिस्टहरू तत्काल एकता नहुने बरु सहकार्यको माध्यमबाट निकट हुँदै जाँदा मात्र भविष्यमा एक हुने बताए।
‘अहिले हामी सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ र क्रमशः एकताको बाटोमा पुग्न सक्छौँ’, ओलीले भने, ‘तर अहिले नै देशभरिका मिलौँ भन्यो भने किन फुटेका थियौ? के भएर फुटेका थियौ? यस्ता प्रश्न उठ्न सक्छन्।’
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै अहिले नै पार्टी एकीकरण गरिहालौँ र भइहाल्छ भन्ने कुरा व्यक्तिगत तुष्ट र आकांक्षा मात्र हुने बताए।
‘देशभक्त शक्तिहरू, राष्ट्रिय शक्तिका रूपमा काम गर्न जसले मञ्जुर गर्छ त्यस्ता शक्तिहरू, देशको पक्षमा सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा हुनेहरू’, उनले भने, ‘अनेक प्रकारका साम्प्रदायिक भड्काउने र अविश्वास बढाउने गर्यो भने देश बिथोलिन्छ।’


