जनकपुरधाम- धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। झडपमा परी तीन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।
नाबालिग किशोरकिशोरीका प्रेमसम्बन्धका विषयमा दुई समूह विवाद उत्पन्न भएको थियो। सो विवादले उग्र रूप लिएपछि नियन्त्रणका लागि गएको प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए।
‘बिहानैदेखि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो। बिहान एक चरण स्थिति सामान्य लयमा फर्कने अवस्था थियो,’ डीएसपी अवाले भने, ‘दिउँसो फेरि टायर बालेर प्रदर्शन गरेका थिए। प्रहरीको गाडीमाथि तोडफोड भएको छ। नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका एक जना घाइते हुनुभएको छ।’
स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ।
नाबालिग किशोरकिशोरी प्रेम सम्बन्धमा रहेकाले उनीहरूले भागी विवाहको तयारी गरेका थिए। यसपछि केटी पक्षले अपहरण तथा बन्धकको कसुरमा उजुरी दिए। उजुरीपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको विषयमा स्थानीयले प्रहरीका गाडीमा तोडफोड भएको अवाको भनाइ छ।
झडप भएको स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। उजुरीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


