काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेबारे सामाजिक सञ्जालमा आएको सामग्रीमा कम्मेन्ट गर्दा नेपाल प्रहरीको साइबर ब्युरोले यातना दिएको एक युवाले बताएका छन्। जाजरकोटको कुशे गाउँपालिकाका २७ वर्षी गणेशमानसिंह ठकुरीले फेसबुकमा भिडियो पोस्ट गर्दै यस्तो बताएका हुन्। बुधबार साँझ आएको उक्त भिडियो यतिबेला फेसबुकमा भाइरल छ।
वीर अस्पतालको आकस्मिक कक्षको बेडबाट ती व्यक्तिले लामिछानेबारे कमेन्ट गर्दा प्रहरीले यातना दिएको बताएका छन्। ‘मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा सहकारी ठग भनेर दुई तीन महिना अगाडि कमेन्ट गरेको थिएँ, अस्ति साइबर ब्यूरोले मलाई बोलायो। अनि, अनेक प्रसंग सोध्यो। ब्यूरोमा पुग्दा आफूलाई अधिकृतहरुले ‘तँलाई ६/७ वर्ष जेल हाल्छु, गृहमन्त्रीविरुद्ध बोल्ने?’ भन्दै धम्क्याएको ठकुरीले उल्लेख गरेका छन्, ‘तँसँग सहकारी ठगीको के प्रमाण छ? तँलाई जेल हाल्छौँ। सम्माननीय गृहमन्त्रीलाई चिन्छस्? मलाई हजारौं प्रश्न सोध्यो र साइबर ब्यूरो ढोकामै औषधि (ओभरडोज) खान बाध्य भएँ।’
यस विषयमा साइबर ब्युरोले भने ती व्यक्तिले भनेको कुरामा कुनै सत्यता नभएको दाबी गरेको छ। उक्त भिडियोलाई ब्युरोले भ्रमपूर्ण भन्दै कारबाहीको चेतावनी दिएको छ।
‘अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट प्रचार भएको भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको…’ ब्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तर भिडियो अपलोड गर्ने गणेशका भाइ मानबहादुरले भने लामिछानेसम्बन्धीको एक पोस्टमा ‘सहकारी ठग’ भन्दै कमेन्ट गरेकै आधारमा दाजुलाई साइबर ब्यूरोले ‘टर्चर’ दिएको उल्लेख गरेका छन्। प्रहरीले झुटो मुद्दा लगाउने काम मात्र नगरेर झुटो प्रचार पनि गरिरहेको उनले बताए। गणेश शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थी हुन्।
सोमबार र बुधबार ब्युरोले टर्चर दिएपछि दाजु गणेशलाई असैह्य भएकाले ओभरडोजको सिटामोल खाएको उनको भनाइ छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफ्ना पूर्वसाझेदार जीबी राई संस्थापक भएको सहकारीको लाखौं रुपैयाँ हिनामिना भएको प्रकरणमा विवादमा तानिएका छन्। रविले सहकारी ठगीमा आफू संलग्न नभएको जिकिर गरिहरेका छन्। इलाम-२ मा उपनिर्वाचनका कार्यक्रमका दौरान पनि उनले यही विषयमा प्रष्टीकरणमा समय खर्च गरेका छन्। इलामका व्यवसायीको जाहेरीका आधारमा उनीमाथि सोधुपछ गरिएको एसपी ढकालले बताए।
रविले छानबिनको बाटो नखोलेको भन्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ भने सामाजिक सञ्जालमा उनीविरुद्ध टीकाटिप्पणी चलिरहेको छ। सहकारी ठगीमा प्रहरीले रविलाई प्रतिवादी नबनाएको विषयमा पनि आलोचना भइरहेको छ।


